काठमाडौ- राधा फाउन्डेसनले महिला हिंसाविरुद्ध र क्यान्सर सचेतनामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
आइतबार नवलपुरको कावासोतीमा पत्रकार सम्मेलन गर्दै पत्रकार राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ ।
स्तन क्यान्सरका कारण मृत्युवरण गरेकी पत्रकार बस्याल आफैँले स्थापना गरेको राधा क्यान्सर सचेतना फाउन्डेसनले कोषबाट हिंसाविरुद्ध तथा क्यान्सर सचेतनाका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न लागिएको फाउन्डेसनका अध्यक्ष पत्रकार प्रकाश बस्यालले जानकारी दिए ।
यस वर्षको पुरस्कार आगामी फागुन ९ गते बस्यालको जन्मोत्सवका अवसरमा वितरण हुने राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष बस्यालले बताए ।
पुरस्कारका लागि फाउन्डेसनले आजैदेखि आवेदन खुलाएको छ । आगामी फागुन ४ गतेभित्र यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशित प्रशारित क्यान्सर सचेतना र हिंसा विरुद्धका सामाचार, लेख सामग्रीसहित आवेदन दिन सकिने उनले बताए ।
तीनवटा सामग्रीमध्ये क्यान्सर सचेतनासम्बन्धी एउटा अनिवार्य हुनुपर्ने छ । आवेदकमध्येबाट एकजनालाई अक्षयकोषको हुन आउने ब्याज रकमबाट २० हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिने फाउन्डेसनले जनाएको छ ।
१० वर्षदेखि पत्रकारितामा सक्रिय राधा बस्यालको यही कार्तिक १४ गते स्तन क्यान्सरका कारण मृत्युवरण गरेकी हुन्। विवाहलगत्तै घरेलु हिंसाको सिकार भएकी बस्यालले क्यान्सर रोग लागेपछि क्यान्सर सचेतना र घरेलु हिंसाविरुद्ध अभियान चलाएकी थिइन ।
उनले राधा क्यान्सर सचेतना फाउन्डेसन संस्था स्थापना गरी पत्रकारिता र घरेलु हिंसाविरुद्ध अभियानलाई अगाडि बढाएकी थिइन ।
पत्रकारिताको माध्यमबाट सामाजिक अभियान र क्यान्सरको सचेतनामा सक्रिय राधाको चाहना बमोजिम नै कोष खडा गरी पुरस्कार दिन लागिएको राधाका बुबा शुभराज बस्यालले बताए ।
त्यस्तै, राधाले आफू क्यान्सरसँग जुधिरहेका बेला लेखेको पुस्तक पनि प्रकाशनको तयारी गरिएको फाउन्डेसनले जनाएको छ । क्यान्सरसँग जुधिरहेका बेला आफ्नो अनुभव र भोगाइसहित बस्यालले लेखेको पुस्तक प्रकाशन गर्न नपाई उनको निधन भएको थियो ।