काठमाडौं - भान्साको काम गर्ने महिलाहरुले दिनमा कम्तीमा २ घण्टा भन्दा धेरै समय आगोमा बिताउँछन् । उनिहरुले बिहान उठेर पुजा गर्ने समयदेखि बेलुकाको खाना तयार पार्ने समयमा दैनिक आगोको सामना गरिरहेका हुन्छन् ।
भान्सामा बस्ने महिलाले हात जल्ने समस्या धेरेजसो भोगिरहेका हुन्छन् । उनिहरुले जति होसियार भएर काम गरेपनि हात जल्ने गर्छ । शहरी भेगमा इन्धनको रुपमा ग्यासको प्रयोग हुने भएकाले भान्सामा बस्ने महिलाहरुको हात जल्ने सम्भावना कम हुन्छ । तर ग्रामिण भेगमा इन्धनको रुपमा काठ वा दाउराको प्रयोग हुन्छ । दाउरा बाल्दा समय समयमा दाउरा मिलाइरहनुपर्ने फुकेर बाल्लुपर्ने भएकाले हात जल्ने सम्भावना धेरै हुन्छ ।
हाम्रो समाजमा खाजाको रुपमा धेरैजसो रोटि खाने गरिन्छ । रोटि प्राय व्यक्तिलाई मनपर्ने खाजा हुनसक्छ । दाउरामा रोटि बनाउँदा अझै मिठो हुन्छ । तर दाउरामा रोटि पकाउन एकदमै कठिन हुन्छ । दाउरामा रोटि पकाउँदा राम्रो सँग पाक्छ तर पकाउने व्यक्तिले जति नै सावधानि अपनाए पनि हात पोल्छ ।
विज्ञहरूका अनुसार हात वा शरीरको अन्य भाग जलेको १५ मिनेट वा आधा घण्टा भित्र उपचार गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ। हात जलेको ठाउँमा घरेलु उपचारलाई प्राथमिकता दिएमा यो समस्यालाई धेरै हदसम्म रोक्न सकिन्छ। शरिरको जुनसुकै अंग जलेमा पनि घरेलु उपचार मार्फत कम गर्न सकिन्छ ।
चिसो कम्प्रेस
चिसो पानीमा सफा कपडा भिजाएर निचोरेर जलेको भागमा राखेमा दुखाईबाट राहत पाउन सकिन्छ । जलेको भागमा ५ देखि १५ मिनेटको अन्तरालमा कम्प्रेस गरेमा दुखाईबाट राहत पाउन सकिन्छ ।
एन्टिबायोटिक औषधि
एन्टिबायोटिक औषधि वा क्रीम जलेको भागमा लगाउन सकिन्छ । यसको प्रयोगले संक्रमण रोक्न मद्दत गर्दछ। प्रभावित क्षेत्रमा यि सामाग्रीको प्रयोग गरेपछि सफा कपडाले छोप्नुपर्छ ।
घ्युकुमारी
जलेको भागमा तुरुन्तै घ्युकुमारीको पातबाट लिइएको जेल लगाएमा जलेको महशुस कम हुन्छ । यसमा पाइने एन्टी इन्फ्लेमेटरी गुणहरूले रक्तसञ्चारलाई बढावा दिन्छ साथै जलेको ब्याक्टेरियाको बृद्धिलाई रोक्छ।
तुलसी
खास गरी पटका जलाउँदा वा अन्य भाग जलेमा तुलसीको रस प्रयोग गर्नु एकदम राम्रो उपचार हो। प्रभावित क्षेत्रमा नियमित रूपमा यसलाई प्रयोग गर्दा, घाउ एक हप्तामा सुक्छ। जलेको दागहरुमा तुलसीको पातको पेस्ट बनाएर लगाउँदा दाग कम गराउँछ ।
गाईको गोबर
जलेको भागमा घरेलु उपचारको रुपमा गाईको गोबर एकदमै प्रभावकारी हुन्छ । शरीरको कुनै भाग आगोको कारणले जलेमा गोबरको प्रयोगले दुखाईमा राहत मिल्छ ।
चिसो पानी
आगो वा तातो पानीले जलेको ठाउँमा केहि नसोचि चिसो पानी प्रयोग गर्ने गरिन्छ । यो एक राम्रो विकल्प हो। जलेपछि तुरुन्तै कम्तिमा २० मिनेट प्रभावित क्षेत्रमा चिसो पानी वा चिसो पानी को एक बोतल राख्दा यसले जलनलाई शान्त पार्छ।
हल्दी
जलेको ठाउँमा हल्दी प्रयोग गरेर धेरै फाइदा हुन्छ। हल्दीको पानीले जलेको भाग पखालेमा पीडा कम हुन्छ।
मह
महमा एन्टीइन्फ्लेमेन्टरी, एन्टिब्याक्टेरिया र एन्टिफंगल गुणहरू हुन्छन्, जसका कारण जलेको भागमा यसको प्रयोगले जलन कम गर्दछ।
आलुको रस
जलेको भागमा आलु, आलुको रस वा आलुको बोक्रा राख्दा जलेको दुखाएबाट राहत पाउन सकिन्छ । आलुलाई दुई टुक्रा बनाएर जलेको ठाउँमा राखेमा दुखाइ कम हुँदै जान्छ ।
सूर्यको किरणबाट टाढा
जलेको भागलाई घामको किरण परेमा दुखाई बढ्न सक्छ । त्यसैले जलेको भागमा जोगाउन कपडाको प्रयोग गर्नुपर्छ ।
गाजर
गाजरमा प्रोटिन्सका साथै जलेको घाउ ठीक गर्ने क्षमता हुन्छ । यसलाई पिसेर लगाउँदा जलेको भागमा आराम मिल्छ ।
जलेको भागमा कस्ता सामग्रि प्रयोग गर्न हुदैँन
टुथपेस्ट
प्राय जसो मानिसहरुले जलेको भागमा टुथपेस्ट लगाउने गर्छन् । यसलाई जलेको भागमा प्रयोग गरेमा जलन बढाउँछ साथै संक्रमण हुने सम्भावनालाई बढाउँछ त्यसैले जलेको भागमा यो प्रयोग गर्नुहुदैँन ।
अण्डाको सेतो भाग
धेरै मानिसहरू जलेको भागमा अण्डाको सेतो भाग लगाउने गर्छन् । यस्को प्रयोगले ब्याक्टेरिया संक्रमणको जोखिम उच्च हुन्छ । साथै जलेको भागमा एलर्जी गराउँन सक्छ त्यसैले यसको प्रयोग गर्नुहुदैँन ।
हिउँ
धेरै व्यक्तिहरू अझै पनि जलेको भागमा हिउँ वा एकदमै चिसो लगाउने गर्छन् । वास्तवमा, प्रभावित क्षेत्रमा चिसो पानी लगाउनु राम्रो छ, तर बरफ वा धेरै चिसो पानी लगाएमा समस्या बढ्न सक्छ। त्यसैले धेरै चिसो पानिको प्रयोग गर्नु हुदैँन ।
नरिवल तेल
नरिवल जलन लाई शान्त पार्ने उत्तम तरिका हो । तर नरिवलको तेल तातो उत्पादनको लागि परिचित छ, त्यसैले जलेको भागमा लगाउनु हुदैन ।
जलेको कस्तो अवस्थामा अस्पताल नै जानुपर्छ
मधुमेह भएको व्यक्तिको खुट्टा जलेमा सो व्यक्तिलाई घरेलू उपचारको सट्टा अस्पताल लैजानुपर्छ ।
अनुहार, हात वा कम्मरको हिस्सा जलेमा वा घाउ दुख्ने वा दुर्गन्धित भएमा घरेलु उपचारमा अल्झिनु हुदैन ।
गहिरो जलेमा वा इलेक्ट्रिकको कारण जलेमा घरेलु उपचार प्रभावकारी हुँदैन। यसले भित्र क्षति पुर्याउन सक्छ। त्यसका उपचारका लागी अस्पताल नै जानुपर्छ ।