काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने शुक्रबारको पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।
लिगको सुरुवाती चरणहरुमा जितविहीन रहँदै रेलिगेशन क्षेत्रमा रहेको एपीएफले पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै २ बराबरी र १ जितको सहायतामा ५ अंक जोडेको छ । शुक्रबारको खेलमा जित निकालेको खण्डमा एपीएफले पाँचौ र छैठौं स्थानमा रहेका सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबसँग अंक बराबरी गर्नेछ ।
अर्कोतर्फ एएफसी कप छनोटको होडबाट बाहिरिसकेको आर्मी लिग उपाधिको होडमा पनि कमजोर देखिन थालेको छ । ६ खेलबाट १० अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा छ।
शुक्रबारको खेल जितेको खण्डमा आर्मीले दोस्रो स्थानको मनाङ मर्स्याङदी क्लबसँग अंक बराबरी गर्नेछ । आर्मी र एपीएफबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम भिड्दैछन्। जारी लिगको तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लब जितविहीन रहेको एकमात्र टोली हो ।
६ खेलबाट तीन बराबरी खेल्दै एपीएफले ३ अंक जोडेको छ । श्क्रबारको खेलमा जित निकालेको खण्डमा फ्रेन्ड्स क्लब रेलिगेशन क्षेत्रबाट बाहिरिने छ र १० औं स्थानको नेपाल पुलिस क्लबसँग अंक बराबरी गर्नेछ ।
त्यस्तै न्युरोड टिम एनआरटी जारी लिगमा सबैभन्दा धेरै बराबरी खेल्ने टोलीमध्येको हो । एनआरटी, आर्मी र थ्री स्टार क्लबले ६ खेल खेल्दा सर्वाधिक ४ बराबरी खेलेका छन्।
एनआरटीले ६ खेलबाट ४ बराबरी र १ जित निकाल्दै ७ अंक जोडेको छ। हाल ८ औं स्थानमा रहेको एनआरटीले शुक्रबारको खेलमा जित निकाल्न सके चौथो स्थानको आर्मीसँग अंक बराबरी गर्नेछ ।
फ्रेन्ड्स क्लब र एनआरटी शुक्रबार साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन् ।