काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश-२ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो ।
प्रदेश-२ का विवेक यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीको हार टार्न सकेनन् ।
यस्तै सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए ।
त्यस्तै हरिशंकर साहले २२ रन जोड्नु बाहेक प्रदेश-२ का अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदेश-२ लाई सस्तैमा समेट्न लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाए ।
यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे ।
प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए ।
जितसंगै समूह 'बी' को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।
प्रदेश-२ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।