काठमाडौं। प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरूवात गरेका छन्। त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको आर्मी १९.१ ओभरमा ११६ रनमै अलआउट भयो। आर्मीका लागि कप्तान विनोद भण्डारीले १७ बलमा २९ रन जोडे। हरि चौहानले २० रन बटुले।
बलिङमा कर्णालीका प्रशास जैशीले ३ विकेट लिए। अनुज चुनराले २ विकेट लिन सफल भए। ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा ५३ रनमा अलआटउ भयो। कर्णालीका लागि अर्जुन घर्तीले १६ रन र कप्तान तथा ओपनर रवीन्द्र शाहीले १५ रन जोड्न सके।
बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए। प्लेयर अफ दि म्याच भएका उनले ४ ओभरमा १५ रन दिए। सुसन भारी र साहब अलामले २–२ विकेट लिए।
यता मुलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले हरायो। पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रन मात्र जोड्न सक्यो।
पुलिसका लागि कुशल भुर्तेलले २१ र पवन सराफले २० रन जोडे। बलिङमा सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले ३–३ विकेट लिए। ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा ९१ रन मा जोड्न सक्यो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २७ रन र नारायण जोशीले २२ रन जोडे।
बलिङमा पुलिसका आरिफ शेखले ४ विकेट लिए। प्लेयर अफ दि म्याच भएका उनले ४ ओभरमा ९ रन मात्र खर्चिए। करण केसी, दीपेन्द्रसिंह ऐरी र पवन सराफले १–१ विकेट लिए। करणले ४ ओभरमा ८ रन मात्र दिए। करणले अन्तिम दुई ओभरमा ३ रन दिँदा १ विकेट लिएका थिए।