सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुधबार सात वटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्लाका संयोजक, सहसंयोजक, भ्रातृ संगठनका पदाधिकारीलगायत सहभागी रहेको बताइएको छ ।
काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा भएको बाग्मती प्रदेशस्तरीय भेलालाई नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्दै सरकारलाई असफल बनाउन खोजेपछि संसद् विघटन भएको बताए ।
पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजिएको उनले बताए ।
नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले पदका लागि मरिहत्ते गर्ने दाहाल र नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने दाहाल र माधव नेपालले मध्यावधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रश्न गरे ।
अध्यक्ष दाहाल ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने र अहिले प्रधानमन्त्री पनि चाहिने, यो कस्तो इच्छा हो भन्दै रायमाझीले थप प्रश्न गरेका छन् । यस्तै अवस्था र इच्छाका कारण अहिले संसद् विघटन भएको उनले बताए ।
कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेताहरू गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, आनन्द पोखरेललगायतको सहभागिता रहेको छ । अन्य प्रदेशमा पनि शीर्ष नेताहरू सहभागी भएर ओली समूहको भेला भएको छ । बिहीबार ओली र दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकसमेत बस्दै छ ।