काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिइने जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिइने, त्यसपछि जोखिममा रहेका अन्य जनसंख्यालाई खोप दिइने मन्त्री त्रिपाठीले बताए ।
उनले खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको बताए । भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिने र भोली नै खोप नेपाल ल्याउने उनले बताए ।
उनले कोरोना विरुद्धको खोप अभियान सञ्चालनमा मन्त्रालय लगायत सबै तयार रहेको र सबैलाई समान तरिकाले उपलब्ध गराउने बताए ।
कोरोना विरुद्धको खोप आयतका लागि कानुनी, आर्थिक र प्राविधिक प्रकृयामा कुनै समस्या बिना तयारी पुरा भएको मन्त्री त्रिपाठीले बताए ।
सो खोप भारत सरकारले नेपाल लगायत अन्य छिमेकी मुलुकलाई उपलब्ध गराएको छ । उनले भने, कोरोना बिरुद्धको खोप स्वास्थ्यका लागि मात्र नभई राजनितिक बिषय पनि बनेको छ । संक्रमणलाई रोक्न र संक्रमितलाई बचाउनका लागि खोपको आवश्यकता रहेको उनको भनाइ छ ।
मन्त्रीले कार्यक्रममा बोल्दै खोप लगाएको व्यक्तिलाई विदेश जानका लागी सहज हुने र अब विदेश जानका लागी पिसिआर परिक्षण गर्नुपर्ने झन्झट झेल्न नपर्ने समेत उल्लेख गरे ।
मन्त्री त्रिपाठीले भारत सरकारले खोपका लागि गरेको सहयोगको धन्यवाद दिदै आगामि दिनमा खोप खरिदमा पनि भारत सरकारले महत्वपूर्ण भुमिका रहने विश्वास व्यक्त गरे ।