काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित १५ जनाको नाम दर्ता गराइएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानका अनुसार आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा र बिनोद भण्डारीको नाम दर्ता गराइएको छ।
यस्तै, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको नाम दर्ता सूचीमा छ।
फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुने अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको आईपीएल गभर्निङ काउन्सिलले जनाएको छ।
जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन्। त्यसमध्ये एसोसिएट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराएका छन्।
भारतबाहेक देशका कुल ३१८ जना खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्। ओमानबाट ३, अमेरिकाबाट १४, स्कटल्याण्डबाट १, नेदरल्याण्डबाट १, नामिबियाबाट ५ जना तथा भुटानबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्।
टेस्ट राष्ट्र जिम्बाब्वेबाट २ तथा आयरल्याण्डबाट ३ जना खेलाडीले नाम दर्ता गराएका छन्। अफगानिस्तानबाट २०, अस्ट्रेलियाबाट ५९, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रीकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्ट इन्डिजबाट ४१ जना खेलाडीले नाम दर्ता गराएका हुन्।
आईपीएलमा १० टोलीले रिटेनमार्फत् ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन्। दर्ता गराएको नामबाट आईपीएलमा सर्ट लिट हुनेछ। सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन्।
आईपीएल अक्सन फेब्रुअरी १२ र १३ म हुने भनिएको छ। तर, औपचारिक रुपमा घोषणा भने गरेको छैन। यस सिजनदेखि आईपीएलमा दुई टोली अहमदाबाद र लखनउ गरि १० टोलीको सहभागीता रहने छ।