हुम्ला - हिमाली जिल्ला हुम्ला कोरोना संक्रमण मुक्त भएको छ । यसअघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका संक्रमितको एन्टिजेन किटबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला भएको हो ।
जिल्लामा एकजना सिटिजन्स बैंककी कोरोना संक्रमित महिला कर्मचारी कोरोनाको बिहीवार बेलुका कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आउदा हुम्ला जिल्ला कोरोनामुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । उनको एन्टिजिन किटबाटै कोरोना परिक्षण गरिएको थियो । कोरोना संक्रमण भएको १३ दिनपछि उहाँको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा सिटिजन्स बैंकका एक जना महिला कर्मचारी सहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडी हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर काठमाण्डौ लगिएको थियो ।
संक्रमित ती महिलाको अबस्था सामान्य भएको कारण होम आइसोलेशनमा रहदै आएका थिए । कोरोना रिर्पोट नेगेटिभ आएसँगै उनी कोरोनामुक्त भएसँगै हुम्ला पनि कोरोना मुक्त जिल्ला बनेको छ । लामो समय कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोज यता जिल्ला भरि ९१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै निको हुँदा हाल संक्रमित संख्या शुन्यमा झरेको हो । गत असोज ३ गते हुम्लामा पहिलो पटक नेपालगञ्जबाट हवाई जहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो ।
त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विधार्थीमा कोरोना संक्रमण देखिएको थियो । हुम्लाका सात वटा गाउँपालिका मध्य अहिलेसम्म चार वटा नाम्खा सिमकोट, सर्केगार्ड र ताँजाकोट गाउँपालिकामा संक्रमित देखिएका छन् भने बाँकी तीन वटा खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिका कोरोना संक्रमण नदेखिएका गाउँपालिकाका रुपमा रहेका छन् ।
’
रासस