काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानमाथि ६ विकेटको जित हात पारेको छ ।
अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का हिर्काए ।
दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए ।
आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषवाकरले अविजित ४ रन जोडे ।
ओमानका कलिमुल्लाहले २ विकेट लिए । खवार अलीले १ विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।
ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे ।
९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे ।
जातिन्दर सिंहले १३, अयान खान ११ तथा कश्यप प्रजापतिले ११ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।
कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट हात पारे ।