काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग पराजित भएको छ ।
अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको हो ।
आयरल्याण्डले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । आशिफ शेख २३ रनमा आउट हुँदा कुशल भुर्तेल १५ रन जोडेर पेभेलिएन फर्किए ।
लोकेश बम ६ तथा ज्ञानेन्द्र मल्ल ५ रनमा आउट हुँदा शरद भेषवाकर १ रनमा आउट भए ।
कमल ऐरी १३, कुशल मल्ल ९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए ।
अविनाश बोहरा ३ र जितेन्द्र मुखिया १ रनमा अविजित रहे ।
आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा अलआउद हुदै १ सय २७ रन बनाएको थियो ।
आयरल्याण्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रन जोड्दा कर्टिस क्याम्फरले २०रन बनाए ।
यस्तै कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ र सिमी सिंहले १ रन जोडे ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए ।
अविनाश बोहराले दुई विकेट लिए । सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।
यस हारसँगै नेपालले ३ खेलमा २ अंक जोड्यो । नेपाल पुछारमा रह्यो ।
आयरल्याण्डले ३ खेलमा ४ अंक जोड्यो ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलेको हो ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।