काठमाडौं - निर्मलाहरु उखु बारीको धमिलो पानीमा बग्दै निर्मल बनेर बिलिन भए । सम्झनाहरु अब केबल सम्झनामा मात्रै सिमित बनेका छन् । तर अझै पनि गुलाब शाहहरुलाई यसरी नै बिलिन र सम्झनामा सिमित बनाउने मानसिकता भने छरपष्ट रुपमा छरिएका छन् ।
१४ बर्षिय होस् अथवा १२ बर्षिय, ६ बर्षिय होस् वा ८ महिने नै किन नहोस् ती अबोध शरिरको लुछाचूँडी गर्न त्यो मानसिकता पछि परेन । यी शरिरहरुले न छोटो लुगा लगाएका थिए, न शरिरका अंगहरु नै प्रदर्शन गरेका थिए । तर पनि त्यो यौन पिपाशु मानसिकताले अंग अंग लुछेरै छाडे । कस्तो मानसिकता हो त्यो, जहाँ मानवता भन्ने शब्दले पटक्कै बास नगरेको ? छोटो लुगा लगाएर अंग प्रदर्शन गर्दै हिँड्नेहरु बलात्कारमा पर्छन् भन्ने शब्दहरु गाउँ शहरका गल्ली गल्लीमा सुनिन्छन् । ६ बर्षिय नानीहरुले पुरुषत्व जगाउने सम्मको अंग पक्कै प्रदर्शन गरेनन् होला ? फेरी किन खेलियो उनीहरुको शरिरसँग ? ति शरिरको लुछार्ईसँगै छोरीको सुनौलो भविष्यको परिकल्पनामा बसेका थुप्रै आमा बाबुको सपना पनि लुछियो । विगतमा पनि यस्ता घटना घटेकै थिए, वर्तमानमा पनि घटिरहेकै छ । अनि भविष्यमा ?
दैनिक रुपमा हाम्रै वरिपरि नगन्य मात्रामा यौन हिंसाहरु भैरहेका हुन्छन् । सार्वजनिक यातायात चढ्दा होस् या पैदल यात्रा गर्दा होस् । हरेक चोक, गल्लीमा यौन हिँसाका भाईरसहरु सलबलाईरहेका हुन्छन् । भिडभाड सवारी साधनमा जसरी हुन्छ महिलाको शरिरमा छुने, गोप्य अंगहरुमै हात पुर्याउने कुचेष्टा गरिरहेका हुन्छन् । यति पनि नभए घुरेर हेरेकै भरमा चित्त बुझाउँछन् । पैदल हिँड्दै गर्दा क्या फिगर छ यार, क्या मस्त बडी (अझ तुच्छ शब्दहरु) जस्ता ध्वनीहरु हावामा तरङ्गीत भैरहेका हुन्छन् । चिनजान बढाएर नजिकिने र त्यही मानसिकताको आवश्यकतालाई परिपूर्ति गर्ने जमर्को गरिरहेका हुन्छन् ।
नाटकिय प्रेम र यौन हिंसा
यौन हिंसालाई बढावा दिन गतिलो माध्यम बनेको छ प्रेम, त्यसमा पनि नाटकिय प्रेम । क्षणिक शारिरीक आवश्यकता पूरा गर्न सुनियोजित रुपमा रचिएको प्रेमले यौन हिंसा निम्ताईरहेको छ । जहाँ पुरुष भन्दा बढी महिला नै पिडित भएको देखिन्छ । भन्नलार्ई त प्रेम दुर्ई मुटुको मिलन हो भन्छन् । तर कतिपयले प्रेमलाई केवल शारिरीक आवश्यकता पूर्ति गर्ने माध्यम बनाएको छ । प्रेम गरेपछि सम्पूर्ण शरिरमा उसकै हक लाग्ने जस्तो व्यहोरा देखाउँछन् । फकाएर होस या इमोसनल ब्ल्याकमेल गरेर होस् आफ्नो ईच्छा पुरा गरेरै छाड्छन् । प्रेम सम्बन्ध गाँसेपछि चुम्बन गर्नै पर्ने, अँगालो हाल्नै पर्ने । जसरी हुन्छ गोप्य अंगमा छुनै पर्ने । यो कस्तो प्रेम ? प्रेममा यस्तै गतिविधि गर्नुपर्ने नियम बनेको छ र ? भावनात्मकतामा भन्दा बढी शारिरिक आकर्षणमा हुर्कने प्रेमको अन्तिम उदेश्य नै यौन हुन्छ । जसले बलात्कारलाई सजिलै जन्माईरहेको हुन्छ । आफ्नो चाहना पुरा हुने सम्भावना नभएमा जबरजस्ती बलात्कारसँगै हत्या गर्न पनि पछि पर्दैनन् यस्ता नाटकिय प्रेम गर्ने जमातहरु ।
आफन्तको मायामा लुकेको बलात्कारी मानसिकता
समाजमा उमेर पुगेका किशोर किशोरीबिचको माया प्रेमले निम्त्याएको बलात्कारका घटना असरल्ल भेटिन्छन् । जसले समाजलाई असुरक्षित बनाएको भान गराउँछ । तर त्यो भन्दा अझ बढी दर्दनाक बलात्कारका घटना छन्, जुन आफ्नै आफन्तबाट भैरहेको हुन्छ । विश्व जगतमा ८० प्रतिशत बलात्कार आफ्नै आफन्तबाट हुने गरेको एउटा तथ्याङ्कले देखाउँछ । २० प्रतिशत मात्रै बाहिरी नचिनेको मान्छेबाट हुने गरेको देखिन्छ । आफ्नै बाबुबाट बलात्कृृत हुन पुगेकी कतिपय छोरीहरुको पिडा पछ्यौरी मुनि लुकेका छन् । आफ्नै मामा, काका, दाई, जेठाजु, ससुराबाट लुटिएकाहरुले परिवारको इज्जत जोगाउनकै लागि आफूमाथि भएको हिंसा सहदै आएका छन् । कतिपय घटनामा गाउँ समाजले के भन्ला भन्ने डर र छोरीको भविष्य विग्रीने त्रासले पनि यस्ता घटना लुकाउने गरेका छन् । डर त्रास देखाएकै भरमा आफ्नो यौन ईच्छ परिपूर्ति गर्ने राक्षसी आफन्तहरु भने खुलेआम हिँडिरहेका छन् ।
बलात्कृत हुनेमा १६ बर्ष मुनिका बालिकाको संख्या धेरै
महिला पुनरस्थापना केन्द्रको अनुसन्धान अनुसार बलात्कृृत हुनेमा १६ बर्ष मुनिका बालिकाहरु धेरै रहेका छन् । उक्त अनुसन्धानले ४६ देखि माथिका उमेर समुहमा ३ प्रतिशत महिलाहरु बलात्कारमा पर्ने गरेको देखाएको छ । यसैगरी तथ्याङ अनुसार ३६ देखि ४५ उमेर समुहका ६ प्रतिशत, २६ देखि ३५ उमेर समुहका ११ प्रतिशत र १७ देखि २५ उमेर समुहका २९ प्रतिशत महिला बलात्कारमा पर्ने गरेको छ । तर १६ वर्षभन्दा कम उमेर समुहका भने ५१ प्रतिशत बलात्कारमा पर्ने गरेको तितो यथार्थ महिला पुनरस्थापना केन्द्रको तथ्याङकले देखाएको छ । नेपाल प्रहरीको विगत २ वर्षको तथ्याङक अनुसार ४ हजार ४ सय २१ बलात्कारका घटनामा बालिका बलात्कारको संख्या धेरै रहेको छ ।
साना उमेरका बालिकालाई ललाई फकाई गर्न सकिने र उनीहरुले प्रतिरोध गर्न नसक्ने भएकोले पनि बलात्कारमा पर्ने गरेको महिला पुनरस्थापना केन्द्रको तथ्याङमा उल्लेख छ । जसमा आफन्तले नै यस्ता अनैतिक कार्य गरिरहेका हुन्छन् । बलात्कारपछि हत्या भएका घटनामा प्राय आफन्त नै हुने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ । बलात्कार पछि हत्या गरिएका ८ महिने सोनाली चौधरी, गुलाव शाह, निर्मला पन्तहरु एक प्रतिनिधि पात्र मात्रै हुन् ।
बलात्कारी मानसिकताको अन्त्य कसरी गर्ने ?
बलात्कारी मानसिकताको उत्पति कहाँ र कसरी भयो भन्ने तर्फ कसैको पनि ध्यान आकृष्ट हुन सकेको छैन । केबल बलात्कारीलाई फाँसी दे भन्दै नारा लगाउन तल्लीन छन् । के बलात्कारीलाई फाँसी दिँदैमा समाजमा बलात्कारका घटना रोकिन्छन् ? पक्कै रोकिदैन । छिमेकी राष्ट्र भारतमा बलात्कारीलाई फाँसी दिएको खबर बेलाबखत सुनिरहेका हुन्छौं । तर तेसको चौगुना समाचार बलात्कार र यौन हिँसाबारे आईरहेको हुन्छ । पाकिस्तान, अफगानिस्तान लगाएतका देशहरुमा पनि बलात्कारीलाई फाँसी दिने कानुन बनेको छ । तर बलात्कारका घटनाक्रम बढीरहेकै छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अनुसार दश वर्षभन्दा मुनीका बालिका र ७० वर्षभन्दा माथिका महिलालाई बलात्कार (करणी) गरेमा जन्म कैद हुने उल्लेख गरिएको छ । बलात्कारमा परेकाको उमेर अनुरुप अपराधिलाई सजायको व्यवस्था गरिएको छ । तर पनि दिनप्रतिदिन बलात्कारका घटना घटिरहेका छन् । जेल सजायले मात्रै आपराधिक मानसिकता हट्ला त ? पक्कै पनि हट्दैन ।
आधुनिकतासँगै विलिन हुँदै गएको मानविय संवेदना पनि यसको एउटा पाटो हो । जहाँ समाज भन्दा व्यक्तिलार्ई प्राथामिकता दिर्ईन्छ । साथै अर्को महत्वपूर्ण पाटो भनेको नैतिक शिक्षाको कमी हो । कलिलो मानसिकतामा नैतिक शिक्षाको वास गराउने हो भने गलत कदम उठाउने हिम्मत जो कोहिले गर्न सक्दैन । संस्कार र सत्कार सिकाउने पहिलो जिम्मा घर परिवारको हो । विद्यालय, घरपरिवार र समाजले नैतिक शिक्षालाई जोड दिने हो भने आपराधिक घटनालाई केहि हदसम्म निर्मुल गर्न सकिन्छ ।
यसका लागि जो कोहिले पनि आफ्नो मानसिकतालार्ई जोगाउनु पर्छ । आफ्नो छोरी, दिदीबहिनीलार्ई जुन मान दिएर राखिन्छ सोहि सम्मान अरुको छोरी बुहारीलार्ई दिने हो भने पक्कै पनि यस्ता घटनामा कमी आउनेछ ।
(लेखक तामाङ आमसञ्चार तथा पत्रकारीता विभागमा स्नाकोत्तर तहमा अध्यनरत छिन ।)