काठमाडौं । कोरोना महामारीको प्रभावले लैङ्गिक असमानता झन धेरै गुणाले बढेको युनिसेफले जनाएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले वक्तव्य जारी गर्दै कोभिड- १९ भन्दा पहिले पनि लैङ्गिक असमानता हाम्रो परिवेशमा सबै भन्दा व्यापक र उल्लेखनीय अन्यायको रूपमा कायम रहेको र यो महामारीको प्रभावले यो झन् धेरै गुणाले बढेको बताएका हुन्।उनले कोभिड-१९ पुन स्थापनामा बालिकाहरूलाई प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।
त्यस्तै उनले विश्वका महिला र बालिकाहरूका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको कडा सङ्घर्षको उपलब्धिको कदर गर्ने पनि बताए । तर,लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी रहेको उनले बताए छ ।कोभिड-१९ को तेस्रो वर्षमा प्रवेश गरेसँगै र महामारी पछिको युगको लागि काम गरेसँगै,पुन स्थापना लैङ्गिकताको हिसाबले समान हुनुपर्ने उनले भनेका छन् ।
कोभिड-१९ ले बालिकाहरूको जीवनमा नराम्रो असर गरिरहेको छ। बन्द विद्यालयहरू, आर्थिक तनाव तथा सेवामा अवरोधहरूले सबै भन्दा कमजोर बालिकाहरूको स्वास्थ्य, कल्याण र भविष्यलाई जोखिममा पारिरहेका छन् । विश्वव्यापी रूपमा,१ करोड दश लाख भन्दा बढी बालिकाहरू महामारीपछि कहिल्यै विद्यालयमा नफर्कन सक्छन् ।
अर्को दशकमा,थप एक करोड बालिकाहरू बालविवाहको जोखिममा रहने छन् ।साथै, संयुक्त राष्ट्रसंघीय जनसंख्याकोष (UNFPA)का अनुसार, महिलाको यौनाङ्गविच्छेदका २० लाख थप घटनाहरू हुन सक्ने उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।