काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा लगाउन लागिएको कोरोना बिरुद्धको खोप ‘कोभिसिल्ड’ निर्धक भएर लगाउन सबैलाई अनुरोध गरेका छन् ।
यो खोप विश्व प्रख्यात संस्था अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेक नामक औषधि उत्पादक संस्थासँग मिलेर सयुक्त रुपमा विकास गरेका हुन । भने भारतमा रहेको सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपले तेस्रो चरणको ट्रायल पनि पास गरिसकेको छ । त्यसकारण सबैले निर्धक भएर सो खोप लगाउन मन्त्री त्रिपाठीले अनुरोध गरे ।
उनले भने 'दक्षिण एसिया, दक्षिण अमेरीका र युरोपका कतिपय देशहरुमा पनि यो खोप अभियान जारी नै रहेको छ र त्यहाका जनताले सफलताका साथ लगाइरहका छन् ।'
लक्षित समृहहरुले मात्र खोप पाएको एकिन गर्नका लागि सम्बिन्धित संस्थाले खोप पाएको व्यक्तिको सूचि सार्वजनिक गर्ने व्यवस्था मिलाएको उनले बताए । उनले भने 'खोप केन्द्र रहेको संस्था प्रमुख र कार्यलय प्रमुखले सो को सुनिश्चताता गर्नुपर्ने छ । यस खोपको अनुगमन जिल्ला कोभिड १९ खोप अनुगमन समितीले गर्ने छ ।'
पहिलो चरणको खोप कार्यक्रमले दोस्रो तेस्रो र चौथो चरणको खोप कार्यक्रमलाई सहयोग पुर्याउँने आशा लिएको उनले बताए । पहिलो चरणको खोप अग्रपङ्क्तिमा खटिने व्यक्तिहरुले प्राप्त गर्ने छन् । जसअन्तर्गत खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मी , महिला स्वास्थ्य स्वयंसेविका, बृद्ध आश्रममा रहेका हेरचाह र व्यवस्थापन गर्ने व्यक्ति साथै जेलमा रहेका कैदि र सुरक्षाकर्मीहरु रहेका छन् ।