काठमाडौँ - आज सातै प्रदेशमा रहेका ६ सय बढी स्वास्थ्यकर्मीलाई कोरोनाबिरुद्धको खोप सम्वन्धी तालिम दिन सुरु गरिएको छ ।
सरकारले आगामी १४ माघ देखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु गर्ने योजना बनाएको छ । त्यसैले ७७ वटै जिल्लाका जिम्मेवार स्वास्थ्य अधिकारीहरुलाई खोप बारे तालिम दिन लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ भक्तपुर र ललितपुरका गरी २०० जना स्वास्थ्यकर्मीले भौतिक रुपमै उपस्थित भएर तालिम लिने उनले बताए । बाँकी ७४ प्रदेशका ४ सय बढी स्वास्थ्यकर्मीहरुलाई भर्चुअल विधिबाट तालिम दिइने बताइएको छ ।
उनका अनुसार, उपत्यकाका तीन जिल्लामा विहान १० बजे देखि नै तालिम शुरु भएको छ । काठमाडौँको वेगन भिल्ला, ललितपुरको पाटन अस्पताल र भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा तालिमको व्यवस्था मिलाइएको छ । तर उपत्यका बाहिरका ७४ वटा जिल्लामा दिउँसो साढे ३ बजे देखि जुम विधिबाट तालिम प्रदान गरिने छ ।
भर्चुअल तालिममा जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, खोप फोकल पर्सन, कोलचेन अधिकृतहरु र जिल्ला अस्पताल प्रमुख सहभागी गराइने छ । त्यस्तै सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख, प्रदेशका कोलचेन अधिकृतहरु पनि त्यसमा सहभागी हुनेछन् ।
तालिममा खोप कसरी लगाउने ? खोपको दुरुपयोग हुन नदिन कस्तो तरिका अपनाउने ? कसरी सुरक्षित रुपमा प्रयोग गर्ने लगायतका प्राविधिक पक्षका बारेमा सिकाइनेछ । खोप लगाइसकेपछि आउन सक्ने समस्या र त्यसको समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा समेत प्राविधिक तथा नीतिगत जानकारी गराइने डा गौतमले बताए ।