बनेपा - काभ्रेमा पहिलो चरणमा कोरोना सङ्क्रमण ९कोभिड–१९० बिरुद्धको खोप कोरोनाको बिरुद्ध अग्र भागमा रहेर काम गर्ने व्यक्तिहरुलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेमा आईतबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले पहिलो चरणमा काभ्रेमा कोरोनाको समयमा अग्र भागमा रहेर काम गर्ने तीन हजार ५८१ जनालाई कोरोना बिरुद्धको खोप लगाइने जानकारी दिए । उनले सुरुमा ७४९ जना सरकारी स्वास्थ्यकर्मी, १ हजार ३६८ जना नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, ९५५ जना महिला स्वास्थ्य स्वयम्सेविका, १११ जना नगरपालिकामा कार्यरत सरसफाईकर्मीलाई खोप लगाइने बताए । यसैगरी २२८ जना नीजि क्षेत्रमा काम गर्ने सरसफाईकर्मी, ४४ जना जिल्लामा रहेका एम्बुलेन्स चालक र १२६ जना शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालका सुरक्षा गार्डलाई खोप लगाइने डा झाले बताए ।
उनले जिल्लाको धुलिखेल अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा भ्याक्सिन राख्न अनुरोध गरेको बताए । उनले मन्त्रालयबाट धुलिखेल अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालबाट मात्रै खोप लगाइने व्यवस्था मिलाएको बताए । डा झाका अनुसार मेथिनकोट प्रादेशिक अस्पतालमा जिल्लाको नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स चालक तथा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मीलाई खोप लगाइनेछ ।
त्यस्तै जिल्लाको बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, चौरीदेउराली गाउँपालिका, बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकामा रहेर कोभिडमा अग्रभागमा रहेका व्यक्तिहरुले धुलिखेल अस्पतालमा खोप लगाइनेछ । स्वास्थ्य प्रमुख डा झाले माघ १४ गतेबाट काभ्रेमा पनि कोभिड–१९ बिरुद्धको खोप लगाइने बताए । उनले खोपबाट कुनै नकरात्मक असर देखा परिहालेको खण्डमा उपचार गर्नका लागि धुलिखेल र मेथिनकोट अस्पतालमा आकस्मिक बेडको समेत व्यवस्थापन मिलाइने बताए । भारतले नेपाल सरकारलाई केहि दिनअघि मात्रै कोरोना बिरुद्धको ‘कोभिसिल्ड’ उपलब्ध गराएको थियो ।
’
रासस