काठमाडौं । काठमाडौं जिल्लामा विभिन्न १,३०७ खोप केन्द्र मार्फत् टाइफाइड विरुद्धकोको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौ जिल्लाका १४५ स्वास्थ्य केन्द्र तथा १,३०७ खोप केन्द्र मार्फत् उक्त खोप लगाइने बताएको छ ।
सम्मेलनमा बोल्दै स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले टाइफाइड विरुद्धको खोप अभियानका लागि काठमाडौंमा नेपाल सरकारद्वारा कूल १ करोड ४५ लाख बजेट विनियोजन गरिएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दरबार हाइस्कुुलमा टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका थिए ।
सरकारले आगामी चैत्र २५ गतेदेखी वैशाख १८ गतेसम्म करिब ७५ लाख बालबालिकालाई टाइफाइडको खोप दिने अभियान सञ्चालन गर्न लागेको हो । ४ दिने उक्त खोप अभियानमा १५ महिनादेखी १५ वर्ष भन्दा मुनिका बालबालिकालाई समेटिने छ ।
२००२ देखी २०२२ सम्म आइपुग्दा नेपाल सरकारले विभिन्न १३ प्रकारका खोपहरु निशुल्क रुपमा दिदैं आइरहेको छ । संसारमा हरेक वर्ष करिब २ करोड मानिसहरु टाइफाइड संक्रमित हुन पुगेको तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये १ लाख ६१ हजारको ज्यान जाने गरेको छ ।
नेपालको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार प्रति १ लाख जनसंख्यामा १,०६२ मा टाइफाइडको संक्रमण हुने गरेको छ । त्यसमध्ये ० –४ उमेर समुहमा ७,६४,त्यस्तै ५– ९ उमेरका ६,७१३ तथा १०–१४ वर्ष उमेर समूहका ३,७५० बालबालिकामा टाइफाइडको संक्रमण हुने गरेको छ । अभियानको क्रममा टाइफाइड खोप स्थानिय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ।
विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ। उक्त खोप लगाउनका लागि कोरोना खोप लगाएको १४ दिन भइसकेको हुनपर्ने छ । खोप एक भायलमा २.५ मि.लि हुन्छ । एक व्यक्तिलाई ०.५ मि.लि दिइन्छ । एक मात्रा मात्रै लगाए पुग्ने उक्त खोप सुईको माध्यमबाट दिइने छ ।