काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आइतबारदेखि सुरु हुने भएको छ । कोभिडका कारण गएका २ वटा सम्मेलन भर्चुअल भएकोमा यस वर्ष भने भौतिक उपस्थितिमै हुन लागेको हो । स्वास्थ्य अनुसन्धान परिषद्ले २५ गते पत्रकारसम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो ।
आइतबारदेखि सुरु हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुती हुने परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार सम्मेलनमा ८७ वटा पोष्टर प्रस्तुती, ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरुको आमन्त्रित प्रस्तुतीकरण पनि रहनेछ ।
सम्मेलनको पहिलो दिनमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९ अन्तरर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्था स् अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतिकरण हुने डा.ज्ञवालीले बताए ।
त्यसैगरी, दोस्रो दिन पहिलो सत्रमा समुद्घाटन कार्यक्रम छ भने दोस्रो सत्रमा दुईवटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयहरुमा प्रस्तुतीकरण र छलफल हुनेछ ।
सम्मेलनको तेश्रो दिनमा विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानका बारेमा छलफल गरिनेछ । सोही दिन अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ, नवजात शिशु, र बाल स्वास्थ्य र अन्तरविषय अनुसन्धानका बारेमा स्वदेशी तथा विदेशी विज्ञहरुबाट वृहत छलफल गरिनेछ ।
साथै सम्मेलनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डहरुद्वारा सम्मानित गरिनेछ । चिकित्सकहरुलाई उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार , परिषद्का कर्मचारीलाई मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान वा यसको कार्यान्वयन वा महत्वपूर्ण आविष्कारमा महत्वपूर्ण योगदान पुर्याउनु भएका ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिने छ ।
स्वास्थ्य अनुसन्धान कार्यको नियगन गर्न, अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य योजना, नीति तथा कार्यक्रम बनाउन सम्मेलनबाट आउने निष्कर्षको योगदान रहने परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले बताए ।