समाचार प्रकाशकहरूसँगको सम्बन्धलाई नियमन गर्न नयाँ कानुनलाई अगाडि बढाइए अस्ट्रेलियाबाट बाहिरिने चेतावनी गुगलले दिएको छ।
गुगलजस्ता ठूला कम्पनीहरूले आफ्नो माध्यमबाट गरिएको समाचारको खोजी वा आफ्ना मञ्चमा गरिएको शेअर गरेबापत शुल्क तिर्ने वा नतिर्ने भन्ने विषयमा लामो समयदेखि चल्दै आएको विवादलाई सम्बोधन गर्न सरकारले नयाँ कानुन ल्याउँदैछ।
प्रस्तावित कानुन अनुसार गुगलले सबै समाचार प्रकाशकहरूसँग व्यावसायिक सम्झौता गर्नुपर्न हुन्छ।
यस्तो किसिमको कानुन ल्याइए आफूहरूसँग अस्ट्रेलियाबाट बाहिरिनुको विकल्प नरहेको क्षेत्रीय निर्देशक मेल सिल्भाले बताएका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले "आफूहरूले धम्की वास्ता नगर्ने" प्रतिक्रिया दिएका छन्।
विकल्प के छन्?
अस्ट्रेलियाको सर्च इन्जिन बजारमा गुगलको ९० देखि ९५ प्रतिशत हिस्सा छ। तर माइक्रोसफ्टको बिङ र याहूबाहेक डकडकगोजस्ता अन्य विकल्प अस्ट्रेलियामा छन्।
तर वेबसाइटहरूको मूल्याङ्कन गर्ने कम्पनी एलेक्साले गुगललाई इन्टरनेटमा सबैभन्दा बढी प्रवेश गरिएको साइटका रूपमा सूचीकृत गरेको छ।
याहू ११औँ स्थानमा छ भने बिङ ३३औँ स्थानमा छ।
गुगल बाहिरिनुले सर्वसाधारणहरूलाई साँच्चै प्रभाव पार्ला?
सन् २०१८ मा एक पत्रकारले तीन महिनासम्म पूर्ण रूपमा बिङको प्रयोग गरेका थिए र उक्त वेबसाइटले प्रायजसो राम्रै काम गरेको निष्कर्षमा उनी पुगे।
तर पुराना समाचारहरू खोज्ने कुरामा भने उनले कठिनाइ महसुस गरे। उनले गुगलमा खोजी गर्न प्रयोग गरिने उपायहरू अपनाएका कारण सोचे जस्तो नतिजा प्राप्त गर्न सकेनन्।
गुगल सर्च इन्जिन मात्रै होइन, उसले जीमेल, गुगल म्याप्स अनि यूट्यूबजस्ता अन्य सेवा समेत दिइरहेको छ।
गुगलको धम्की कार्यान्वयन गरिए यी सबै एपमा पनि प्रभाव पर्छ वा पर्दैन भन्ने कुरा हालसम्मको अवस्थामा थाहा हुन सकेको छैन।
के यसले नयाँ दृष्टान्त स्थापित गर्न सक्ला?
अस्ट्रेलियाका एक सांसद रेक्स प्याट्रिकले गुगललाई भने: "यो विश्वभरि जानेछ। के तिमी सबै बजारबाट बाहिरिनेछौ?"
गुगल र यो कानुनको प्रभाव पर्ने कम्पनी फेसबुक अमेरिकी कम्पनी हुन्।
डोनल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले अस्ट्रेलियालाई नयाँ कानुन लागु गर्न "नहतारिन" आग्रह गरेको थियो।
उसले यो "असाधारण" रहेको र यसको "दूरगामी नकारात्मक परिणामहरू" देखिन सक्ने चेतावनी दिएको थियो।
सन् २०१० देखि मुख्यभुमि चीनमा गुगल मूलभूत रूपमा उपलब्ध छैन। युरोपमा पनि अस्ट्रेलियामा जस्तै बहस चलिरहेको छ।
प्रतिलिपि अधिकारसम्बन्धी युरोपेली सङ्घको नयाँ नियमले पनि समाचारहरूका लिङ्कहरू राखे बापत सर्च इन्जिन र समाचार एग्रिगेटहरूले समाचार वेबसाइटहरूलाई शुल्क तिर्नुपर्ने उल्लेख छ।
गुगलका लागि अस्ट्रेलिया कति ठूलो बजार हो?
चीनको तुलनामा सम्भावनाका हिसाबले अस्ट्रेलिया निकै सानो बजार हो।
गुगल अस्ट्रेलियाले सन् २०१९ मा ३.७ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेको थियो जसको मुख्य हिस्सा विज्ञापनबाट आएको रकमले ओगटेको छ।
सबै खर्च कटाएर गुगल अस्ट्रेलियाले सन् २०१९ मा १३.४ करोड अस्ट्रेलियाली डलर बराबर नाफा कमाएको थियो।
के अस्ट्रेलियालीहरूले गुगलको अमेरिकी संस्करण प्रयोग गर्न सक्दैनन्?
गुगलले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई अमेरिका वा अन्य कुनै मुलुकका लागि तयार पारिएको संस्करणमार्फत् सेवा दिन सक्छ।
त्यसो गर्दा स्थानीय सामग्री फेला पार्न केही गाह्रो हुन सक्छ तर सेवा भने उपलब्ध रहनेछ।
तर गुगलले आईपी अर्थात् इन्टरनेट ठेगानाले देखाएको भौगोलिक स्थानका आधारमा अस्ट्रेलियाली प्रयोगकर्ताहरूलाई सेवा प्राप्त गर्नबाट वञ्चित गरिदिन सक्छ।
एउटा उपाय भनेको भर्चूअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्नु हो।
भीपीएन एउटा यस्तो सफ्टवेअर हो जसले प्रयोगकर्तालाई आफ्नो वास्तविक अवस्थिति लुकाएर अन्य कुनै स्थान वा नेटवर्कबाट इन्टरनेटसँग जोडिन सहयोग गर्छ।
त्यसको प्रयोग गरेर प्रतिबन्धित सामग्री तथा वेबसाइट सजिलै हेर्न सकिन्छ।
तर यो प्रक्रियाबाट वेबसाइट वा एप चलाउँदा गति सुस्त हुन्छ। राम्रो भीपीएन प्रयोग गर्न सेवा खरिद गर्नुपर्ने हुन्छ।
गुगलले कति शुल्क तिरोस् भन्ने अस्ट्रेलिया चाहन्छ?
ठ्याक्कै कति रकम हो भन्ने स्पष्ट छैन।
प्रस्तावित कानुनले मध्यस्थता र मोलतोलको प्रावधान परिकल्पना गरेको छ जसका कारण समाचारसंस्थाहरूसँग गुगल सम्झौतामा पुग्न नसके एक न्यायाधीशले "न्यायोचित" शुल्कबारे निर्णय गर्नेछन्।
पछिल्लो १५ वर्षदेखि विज्ञापन शुल्क ओरालो लागेको अवस्थामा पनि सरकारले समाचार प्रकाशकहरूले "न्यायोचित" रकम पाउनुपर्ने बताएको छ।
पछिल्ला वर्षहरूमा गुगल र फेसबुकजस्ता मञ्चहरूमा डिजिटल विज्ञापन भने नाटकीय ढङ्गले बढेको छ।
के यसले साँच्चै प्रकाशकहरूलाई सहयोग गर्ला?
अस्ट्रेलियाको सञ्चार उद्योग जीवन्त छ। न्यूज कोर्पका लगानीकर्ता चर्चित सञ्चार उद्यमी रुपर्ट मर्डखको जन्म अस्ट्रेलियामा भएको हो।
नयाँ कानुन लागु भए उनको संस्थासहित एबीसी जस्तो सर्वसाधारणहरूले तिरेको करबाट चल्ने सञ्चारमाध्यम लाभान्वित हुनेछन्।
सन् २०१४ यता एबीसीको लगानीमा व्यापक कटौती गरिएसँगै उसका विभिन्न सेवाहरू कटौती भएका छन्।
त्यस्तै विज्ञापन बजारमा ह्रास आएसँगै स्थानीय पत्रिकाहरू पनि प्रभावित भएका छन्।
न्यूज कोर्पको स्वामित्व रहेका १२५ भन्दा बढी क्षेत्रीय पत्रिकाहरू यसै वर्षबाट अनलाइनमा रूपान्तरण भएसँगै सयौँ मानिसले रोजगारी गुमाएका छन्।
बिबिसी