काठमाडौँ - नेपालको सातै प्रदेशमा आज (बिहिबार) बाट कोरोनाबिरुद्धको खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्च्युअल माध्यमबाट अभियानको शुभारम्भ गरेका हुन् ।
भारत सरकारको अनुदानमा उपलब्ध गराएको कोरोना बिरुद्धको १० लाख डोज खोप आजबाट देशभर लगाउन शुरु गरिएको हो ।
आजबाट नेपालमा सुरु गरिएको खोप अभियानमा सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाउन शुरु गरिएको हो । यो ७० प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ ।
अभियान शुभारम्भको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिदै खोप लगाएपनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनको सन्देश स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पढेर सुनाएका थिए ।
भण्डारीले विश्वमा कोभिडविरुद्धको खोप अभियान शुरु भएको डेढ महिना भित्रै नेपालमा पनि यो शुरु भएको भन्दै खुशी व्यक्त गरेकी छन् ।
सार्क राष्ट्रमा नेपाल कोरोनाबिरुद्ध खोप शुरु हुने दोस्रो देश बनेको छ । यसअघि भारतमा मात्रै यो खोप लगाइएको थियो ।
स्वास्थ्य मन्त्री त्रिपाठीले नेपालमा सोचेभन्दा छिटो खोप अभियान सुरु भएको बताए । उनले शुरु भएको १० दिन भित्र पहिलो चरणको खोप लगाई सकिने भन्दै आज पहिलो दिन १२ हजार बढीले खोप लगाउने बताए ।
उनले पहिलो चरणमा देशभरका ३०० वटा खोप केन्द्रबाट खोप लगाइने समेत जानकारी दिए ।
सरकारले पहिलो चरणमा कोभिड विरुद्व खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मी गरी गरी ४ लाख ३० हजार बढीलाई कोभिड विरुद्वको खोप लगाउँदै छ।