काठमाडौं । रिस एक प्रकारको भावनात्मक संवेग हो। रिस सधैँ नकारात्मक मात्र हुन्छ भन्नेचाहिँ होइन । कहिलेकाहीँ यसले प्रतिस्पर्धीसँग सामाना गर्न पनि सिकाउँछ। यद्यपि, रिसलाई सूक्ष्म ढंगले हेर्ने हो भने यो मानिसमा हुने ऊर्जाको प्रभाव हो । रिस होस् या प्रेम, दुवैमा ऊर्जाकै भूमिका हुन्छ।
रिस व्यवस्थापन गर्न मानिसलाई त्यति गाह्रो हुँदैन । तर, बुझ्न नखोज्दा या बुझ्न नसक्दा भने रिसले गम्भीर समस्या उत्पन्न गर्न सक्छ । जब रिस उठ्छ तब हामी कि त रिसलाई दबाउँछौँ, कि पोख्छौँ।
रिस उठेका वेला होसपूर्वक काम गर्न आवश्यक हुन्छ । यो नै सबैभन्दा उत्तम उपाय हो । रिस उठ्न लागेको थाहा पाउनासाथ पूर्ण होसमा बस्ने प्रयास गर्नुपर्छ । म के गर्दै छु, के बोल्दै छु, त्यसले दीर्घकालीन असर कस्तो पुर्याउँछ भन्ने कुराको बोध हुन आवश्यक छ।
जब रिसलाई निष्काम भावले हेर्न थाल्छौँ, त्यसपछि रिस स्वस्फूर्त रूपमा कम हुन्छ । यसो गर्दा रिसको ऊर्जा प्रेम, करुणा, क्षमामा रूपान्तरण हुन जान्छ । नियमित ध्यानको अभ्यासले पनि रिस व्यवस्थापनमा सहयोग पुग्छ ।
रिसबाट यस्ता रोग
रिसले मानसिक, भावनात्मक समस्या त निम्त्याउँछ नै, यसका साथै शारीरिक समस्या पनि हुन्छन् । रिसकै कारण टाउको दुख्ने, रक्तचाप, मुटुरोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्याहरू निम्त्याउन सक्छ ।
रिस व्यवस्थापन गर्न
रिस व्यवस्थापनका लागि आफूलाई रिस उठेकोबारे जानकारी हुन जरुरी हुन्छ । किनभने, चरम रिसको अवस्थामा मानिसले होससमेत गुमाउन पुग्छ । त्यसैले यस्तो वेला आफूले गर्ने गतिविधिबारे पनि सचेत हुन आवश्यक हुन्छ, ताकि क्षणभरको गल्तीले पछि पछुताउन नपरोस् । यसो गर्दा रिसको समयमा पनि मानिसले नराम्रो कार्य गर्न सक्दैन।
रिस उठेको थाहा पाउासाथ चार–पाँचपटक गहिरो र लामो श्वास लिने, छोड्ने गर्नुपर्छ । त्यसपछि आफूलाई शान्त भएको भावना मनमा लिनुपर्छ । यसो गर्दा रिस कम हुन जान्छ।
रिस उठ्नासाथ आफ्नो मनलाई डाइभर्ट गर्नुपर्छ । यसो गर्न सकिएन भने सम्बन्धित ठाउँबाट बाहिर निस्कनुपर्छ । रिस व्यवस्थापनका लागि नियमति योग, ध्यान, प्राणायाम पनि गर्न सकिन्छ।