अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन सम्बन्धीका मुद्दालाई समेट्दै नयाँ कार्यकारी आदेश जारी गरेका छन्। जारी आदेशमा सीमित स्थान र क्षेत्रबाहेक उर्जा उत्खननमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने नीति लिइएको आदेशमा उल्लेख छ ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौती गर्दै उर्जा उत्पादनलाई बढावा दिएकोमा बाइडेनले त्यसलाई पनि उल्ट्याइ दिएका हुन् ।कार्यकारी आदेश जारीपछि बाइडेनले जलवायु परिवर्तनले सिर्जित संकट समाधानमा अमेरिकाले विश्वको नेतृत्व लिने बताउँदै सुरूवात अमेरिकाबाटै भएको बताए । ‘हामीले धेरै लामो समय पर्खिसक्यौँ र अब थप पर्खिन सक्ने अवस्था छैन, ह्वाइट हाउसमा आजको दिन जलावायु दिवस हो,’ बाइडेनले भने ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनको भनाइ छ ।